साउन १८, २०७९ बुधबार

दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका बासिन्दा हुन् सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहु । ०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन् ।

कसैसँग पनि गलत व्यवहार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई षड्यन्त्र गरी गम्भीर मुद्दा बनाएर फसाउन खोजिएको परिवारजनको आशंका छ । गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको अभियोग छ । ०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसकेका छन् ।

एक वर्षदेखि दार्चुलामा थिए । पर्वत दरबन्दी भए पनि घर व्यवहार मिलाउनुपर्ने भएकाले दार्चुलामा काज मिलाएका हुन् । स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक जना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरीभित्रको बेथितिबारे प्रसंगवश कुरा कोट्याएका थिए । सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फन्दामा परेका छन् ।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ । जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । श्रीमती दुर्गाले साउन १ गते काठमाडाैँ पुगेर दुई पटक भेट गर्न पाएकी छन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ । पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई संकट परेको श्रीमती दुर्गाले बताउनुभयो ।

‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमान्‌लाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भन्नुभयो ।