साउन १९, २०७९ बिहिबार

गुल्मीको छत्रकोट गाउँपालिकाका पूर्ववडाध्यक्षले आफ्नो जन्मदिनका अवसरमा बाँदर नियन्त्रणका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन्। 


गाउँमा बाँदरले खेतीबाली सखाप पार्न थालेपछि नियन्त्रणका लागि भन्दै जिल्लाको छत्रकोट गाउँपालिकाको वडा नं. ४ का पूर्ववडाध्यक्ष डिलाराम न्यौपानेले जन्मदिनको अवसरमा नगद सहयोग गरेका हुन्।

गाउँका धेरै युवाहरू रोजगारी र पढाइका लागि सहर र विदेशतिर जाने प्रवृत्ति बढेपछि पहाडी गाउँका खेतबारी बाँझिदै गएका छन्। गाउँमा बसेका मानिसले लगाएको बाली पनि बाँदर, बँदेल, दुम्सीजस्ता जंगली जनावरबाट जोगाउन मुश्किल पर्छ।

केही वर्षयता गाउँमा बाँदरले कृषकहरूलाई हैरान पारेको छ। न्यौपानेले बाँझो छोडिएको जग्गामा तारबार गर्ने र बाँदरलाई त्यहीँ नियन्त्रण गरेर राख्ने योजना अनुरूप उक्त रकम सहयोग गरेका हुन्। 

आर्थिक सहयोगसँगै न्यौपानेले बाँझो जग्गा दिने दातासमेत खोजी गरेर २० रोपनी जग्गा व्यवस्था गरेका छन्। 

स्थानीय बासिन्दा हिमलाल भण्डारी र ऋषिराम भण्डारीको घलाम गाउँस्थित २० रोपनी पाखो जग्गा बुट्यान बढ्दै गएर जंगलजस्तै बनेको छ। 

न्यौपानेले भण्डारी दाजुभाइसँग उक्त जग्गा बाँदर संरक्षण तथा नियन्त्रणका लागि लिजमा दिन प्रस्ताव गरे। 

घलामका बासिन्दा बाँदरले दिएको सास्तीबाट हैरान छन्। भण्डारी दाजुभाइ पनि वाार्षिक १४ हजार रुपैयाँ पाउने गरी लिजमा दिन तयार भए।

जग्गा व्यवस्था भएपछि न्यौपानेकै अगुवाइमा बाँदर नियन्त्रणका लागि गोकर्ण ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ। 

समितिले बाँदर लगायतका वन्यजन्तुबाट किसानका बालीनाली जोगाउन सम्बद्ध सरकारी कार्यालयका अधिकारी र विज्ञहरूसँग छलफल गरेर कार्यक्रम अघि बढाउनेछ। 

न्यौपानेले यही समितिलाई आफ्नो जन्मदिनका अवसरमा ५० हजार रुपैयाँ दिएका हुन्।