साउन २०, २०७९ शुक्रबार

आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित भएको छ। 

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै पत्रकार सम्मेलन गरेको आयोगले आजबाट मतदाता संकलन कार्य स्थगित भएको जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित हुने बताए।। तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा भोलि २१ गतेसम्म समय निर्धारण गरिएको उनले जानकारी दिए।

२०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावयता २७ लाख मतदाता थपिएका छन्। 

२०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्। पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएको देखिन्छ।  

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना थिए। 

स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचय पत्र दिन थालेको थियो। 

वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएको अर्यालले बताए। योसँगै अहिले एक करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन्। 

यो नै अन्तिम नामावली भने नभएको अर्यालले बताए। यसमा केही  थप-घट हुनसक्ने उनले जानकारी दिए।

असारयता आफ्नै जिल्लामा मतदाता नामावली लेखाउने मतदाता चार लाख १२ हजार ७६६ छन्। अनलाइनबाट फर्म  भर्नेहरू ३५ हजार ७५० जना छन्। उनीहरूको विवरण पनि आ-आफ्नै जिल्लामा पठाइने अर्यालले बताए। 

‘हामी सबै जिल्लाबाट तथ्यांक लिन्छौं। र दाबी-विरोध गर्नलाई पठाउँछौं। त्यसलाई फाइल बनाएर बाहिर जिल्ला-जिल्लामा टाँस गर्छौं। त्यसपछि मरेका मानिसहरूकोदेखि नामावलीमा त्रुटीहरू छ भने हट्छ,’ उनले भने, ‘अब ठाउँ हेरफेर गर्ने काम बिहिबारबाटै रोकियो। नयाँ दर्ता पनि गर्न पाइएन।’

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । 

आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी सुरु भइसकेको जनाएको हो। 

यस्तै आयोगले मतदान स्थल र केन्द्रको पुनरावलोकन गरेर पुनः निर्धारण गर्ने, राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गर्ने, निर्वाचन कार्यक्रम र तालिका तय गर्ने, जनशक्तिको आँकलन गरेर विवरण सङ्कलन र अद्यावधिक गर्ने लगायतका काम पनि तुरुन्त प्रारम्भ गर्ने उनले जानकारी दिए।

चुनावको खर्चको अनुमान गरेर सरकारसँग बजेट माग गर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया सुरु गर्ने पनि उनले जानकारी दिए। 

आयोगले चुनाव स्वच्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउन तयार रहेको र यस कार्यमा सहयोग गर्न सबैसँग आग्रह पनि गरेको छ।