साउन २०, २०७९ शुक्रबार

काठमाडौँ — धादिङ प्रहरीले समातेको एक किलो सुन, डलर र घरमा फेला परेका सबै सुन नक्कली भएको प्रहरीले पुष्टि गरेको छ । परीक्षणका क्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघले सबै सुन नक्कली भएको प्रमाणित गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए । 

प्रहरीले एक किलो सुन र केही अमेरिकी डलरसहित बेगबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले उनको घरमा खानतलासी गर्दा आधा किलो तौल लेखिएको ४ वटा पहेँलो पत्ता ‘सुन’, ३ थान पेस्तोल र २० राउन्ड गोली फेला पारेको थियो ।

सुन भनिएको धातु भने केही वर्षअघि अन्य व्यक्तिहरूबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान तामाङले दिएका छन् । पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

२०५८ सालमा ठगीको मुद्दा परेका तामाङ २०७४ सालमा पक्राउ परेका थिए । दुई वर्ष जेल र २ लाख ५० हजार जरिवाना तिरेर छुटेका उनी मंगलबार पुनः पक्राउ परेका हुन् ।