साउन २०, २०७९ शुक्रबार

काठमाडौं: न्याय माग्दै सिंहदरबार पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई छोरासहित प्रहरीले पक्राउ गरेको छ।

 सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई 'निषेधित क्षेत्रमा अनसन विरोध प्रदर्शन गर्न नपाउने' भन्दै प्रहरीले पक्राउ गरेको हो। 

निहारिकाले न्यायको लागि यसअघि वसन्तपुरमा अनसन बसेकी थिइन्। न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका)ले सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी थिइन्।

उनले सरकारले आफूलाई गरेको सहमति पुरा नगरेको बताएकी छिन्। आफू अन्यायमा पर्दा पनि सरकारले न्याय दिन नसकेपछि सिंहदरबार आउनु परेको बताइन्।

२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनले आरोप लगाउँदै आएकी छिन्।