एजेन्सी। म्यानमारमा सैन्य ‘कू’ को विरुद्धमा भएको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । उत्तरपश्चिमी शहर केलेमा बुधबार सेनाले चलाएको गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारका प्रतिनिधिहरूलाई हिरासतमा राखी सत्ता हातमा लिएपछि दैनिक प्रदर्शन भइरहेको छ ।बुधबार पनि प्रदर्शनकारीले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतका नेताहरूको रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय युवाहरूले सामाजिक सन्जालमार्फत् सेनाविरोधी प्रदर्शन र अभियान चलाउँदै आएका थिए । तर सेनाले इन्टरनेट सेवा बन्द गरेपछि युवाहरूको नेतृत्वमा हुने प्रदर्शनहरू प्रभावित भएका छन् ।
“फेब्रुअरीदेखी म्यानमार चरणबद्ध रूपमा सूचनाविहीन अवस्थामा पुगेको छ । सञ्चार सेवालाई निकै सीमित गरिएको छ,” इन्टरनेट अवरोध पर्यवेक्षक नेटब्लकका संस्थापक आल्प टोकरले भने ।सैन्य सरकारले कलाकार, लेखक, संगीतकार लगायत धेरै क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।