साउन २०, २०७९ शुक्रबार

काठमाडौं । नेप्सेको भिषण पहिरोले साताको अन्तिम कारोबार दिन शुक्रबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३८ अंकले घटेको नेप्से आज ९शुक्रबार० पुनः ३४ दशमलव ८५ अंकले घटेर २१ सय १३ दशमलव ३० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९१ अंकले घटेर चार सय ६ दशमलव ३४ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय १३ कम्पनीको ४० हजार चार सय २४ पटकको कारोबारमा ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम दुई अर्ब ६२ करोड ६१ लाख ५४ हजार नौ सय ४८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक शून्य दशमलव १२ अंकले बढेको छ । बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् । जसध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ६७ अंकले घटेर १३ सय ७९ दशमलव ७२ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ८६ दशमलव ७१ अंकले घटेर तीन हजार आठ सय १२ दशमलव ६५ अंकमा झरेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक ३९ दशमलव ६ अंकले घटेर २५ सय ५२ दशमलव ६७ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ९५ दशमलव ३२ अंकले घटेर आठ हजार चार सय सात दशमलव ७२ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक एक सय १९ दशमलव ९९ अंकले घटेर नौ हजार नौ सय नौ दशमलव ४५ अंकमा झरेकोमा ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहको सूचक पनि घटेर रातै भएको छ ।

नेप्सेमा शुक्रबार जोशी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९१ प्रतिशतले बढेर दुई सय ६० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मैलुङखोला जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने सात दशमलव १८ प्रतिशतले घटेर चार सय ७८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी शिवम् सिमेन्टको भने शुक्रबार प्रतिकित्ता सात सय ९१ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ६६ लाख २९ हजार नौ सय ३८ रुपैयाँको सेयर कारोबार भएको छ ।