साउन २०, २०७९ शुक्रबार

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँगको शिष्टाचार भेटमा एक चीन नीतिमा नेपालको प्रतिवद्धता व्यक्त गरेका हुन्।

गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए। उनले राजदूत यान्छीसँग भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’

उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए। अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाँणको भनाइ थियो।

चिनियाँ राजदूत यान्छीले नेपालमा विपद् व्यवस्थापनमा चीन सघाउन तयार रहेको बताइन्।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणा बिहीबार गरेकोमा चीनले खुशी व्यक्त गरेको उनले गृहमन्त्रीसँगको भेटमा बताइन्। चुनावबाट जनप्रतिनिधि छानिने व्यवस्थाको पक्षमा चीन सधैं रहँदै आएको उनले बताइन्। उनले चुनावबाट आउने निर्वाचित नयाँ सरकारसँग चीन सहकार्य गर्न इच्छुक रहेको पनि बताइन्।

उनले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन हुने गृहमन्त्री खाँणलाई जानकारी गराइन्।