साउन २६, २०७९ बिहिबार

काठमाडौं:  वेस्टइन्डिज भ्रमणमा रहेको न्युजिल्यान्डले तीन खेलको टी-२० सिरिजमा सुखद सुरुवात गरेको छ। पाहुना टोली न्युजिल्यान्डले हाइस्कोरिङ खेलमा वेस्टइन्डिजलाई १३ रनले पराजित गर्‍यो।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। उसका लागि केन विलियमसनले ४७ रन बनाउँदा डेभन कनवेले ४३ रन बनाए। त्यस्तै ड्यारियल मिचेलले १६ रन बनाउँदा ग्लेन फिलिपले १७ रन जोडेका थिए। त्यस्तै ओपनर मार्टिन गुप्टिले १६ रन बनाउँदा जेम्स निसम ३३ रनमा अविजित रहे। वेस्टइन्डिजका लागि ओडिन स्मिथले ३ विकेट लिएका थिए।

१ सय ८६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित २० ओभरमा १ सय ७२ रनमा समेटियो। उसका लागि समर्श ब्रुक्सले सर्वाधिक ४२ रन बनाउँदा निकोलस पुरनले १५ रन जोडे। त्यस्तै ज्यासन होल्डरले २५ रन बनाउँदा रोभमन पलले १८ रनको योगदान दिएका थिए। त्यस्तै रोमारियो सेफर्ड ३१ तथा ओडेन स्मिथ २७ रनमा अविजित रहेपनि टिमको हार टार्न भने सकेनन्।