साउन २७, २०७९ शुक्रबार

काठमाडाैँ । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भीरबाट लडेर एक जना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।

सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ । घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ । टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।