साउन २७, २०७९ शुक्रबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीननगर–७ जोरसिमलमा रहेको सशस्त्र प्रहरीको चेकपोस्ट गैरकानुनी भएको भन्दै उच्च अदालत विराटनगरले उक्त पोष्ट हटाउन आदेश दिएको छ ।

उच्च अदालतले साउन १९ मा पहिलो पटक अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । बिहीबार उच्च अदालतअन्तर्गत इलाम इजलासले आदेशलाई निरन्तरता दिइएको जनाउँदै चेकपोस्ट हटाउन भनेको हो ।

न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र साहको संयुक्त इजलासले भन्सार सीमा क्षेत्रबाहिर कुनै पनि स्थानमा स्थायी चेक प्वाइन्ट स्थापना गर्न नदिनू र पूर्वपश्चिम राजमार्गको जोरसिमलको चेकपोस्ट हटाउनु भनी विपक्षीका नाममा आदेश गरेको हो ।

सशस्त्रको चेकपोस्टका कारण सर्वसाधारणले सास्ती बेहोरेको भन्दै सन्दिप खनालले गत साउन १८ मा हटाउन माग गर्दै रिट दायर गरेका थिए ।