साउन २७, २०७९ शुक्रबार

काठमाडौँ । मिटरब्याजी अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी समस्या समाधानका लागि निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले यस्ता समस्या समाधानका लागि उपायकाे पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएपछि गृहमन्त्रीले कार्यदल बनाएका हुन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाले भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिनसमेत निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीकाे निर्देशनपछि गृहमन्त्री खाँणले मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

कार्यदलकाे सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युराेमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन्।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

कार्यदलले मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने छ ।

त्यस्तै, अन्तर्निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्ने लगायतका कार्यादेश कार्यदलले पाएको छ ।