साउन २८, २०७९ शनिबार

रूकुम-पूर्वमा जीप दुर्घटनामा परी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित ४ जना घाइते भएका छन्। 

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा ४ जना घाइते भएका हुन्।  

जीप दुर्घटना हुँदा प्रहरीका डिएसपी प्रकाश डाँगीसहित ४ जना घाइते भएका हुन्। 

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २ जना डिएसपी घाइते छन्। प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन्। 

डिएसपी डाँगीको टाउकोमा चोट लागेको रूकुम-पूर्वका प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए। यता श्रेष्ठ भने सामान्य घाइते छन्।  

दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते छन्।

घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ।

प्रजिअ सुनुवारले घाइतेलाई आफूले हेलिकोप्टरमार्फत अस्पताल पठाउने तयारी गरिरहेको जानकारी दिए। 

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फ पठाइएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार डिएसपीसहितको टोलि तकशेरमा निरीक्षणमा जाँदै थियो। सो गाडी बिहान ११ बजे दुर्घटनामा परेको कार्यालयले बतायो।