साउन २८, २०७९ शनिबार

काठमाडौँ । मिटरब्याजीविरुद्ध तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन सरकारले पीडितहरूलाई आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गतेभित्रमा उजुरी दर्ता गर्न आग्रह गरेको हो ।

मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ’, कार्यदलका संयोजक डा भीष्मकुमार भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अफ्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएको समाचारहरू सार्वजनिक भइरहेका छन् । त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याइ कारबाही गर्ने प्रक्रिया चलिरहेको गृहमन्त्रालयले जनाएको छ ।