काठमाडौँ । रूकुम पूर्वमा सुरक्षाकर्मी सवार भ्यान दुर्घटना हुँदा घाइते भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएकाे छ । पुथाउत्तरगंगा गाउँपालिका -११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएको थियो।
दुर्घटनामा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए। गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। दुर्घटनाका घाइतेहरूलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको थियो। घाइतेहरूको नेपालगञ्जमै उपचार भइरहेको छ।
रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा कार्यरत थिए। लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका थिए।
अनुगमन र अरू कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोलि तकसेरा जाने क्रममा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारीसहितको टोलि भने अर्को गाडीमा सवार रहेका थिए । सडकदेखि करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।