शिक्षकले खानका लागि राखेको पानी छोएको भन्दै एकजना दलित बालक कुटिँदा उनको निधन भएको छ ।
भारतको राजस्थानको जालोर जिल्लाको सुराना गाउँमा रहेको विद्यालयमा उक्त घटना घटेको हो । आजतकमा प्रकाशित समाचारअनुसार ती बालकले एउटा माटाको भाँडोमा राखिएको पानी गिलासमा सारेर खान खोजेका थिए ।
आफ्ना लागि राखिएको पानी छोएको भन्दै शिक्षकले उनलाई निमर्मतापूर्वक कुटपिट गरेपछि उनको कानबाट रगत आएको थियो । शिक्षकको कुटाइमा परेका बालकलाई तत्कालै उपचारका लागि उदयपुर र त्यहाँबाट अहमदाबाद पठाइयो । तर शनिवार साँझ ४ बजेतिर उनको निधन भयो ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले एक ट्विट गर्दै घटनाको घोर निन्दा गरेका छन् । साथै जातीय छूवाछूत र हिंसा गर्ने शिक्षकलाई निश्कासन गर्दै कानुनी कार्वाही गर्ने बताएका छन् । प्रहरीले आरोपी शिक्षकलाई गिरफ्तार गरेको छ । सरकारले मृतक परिवारलाई ५ लाख रकम सहयोग गर्ने घोषणा गरेको छ ।
घटनाको कैयन संगठनले विरोध गरेका छन् । प्रशासनले सम्भावित दुर्घटना रोक्न २४ घण्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । घटनाको विभिन्न राजनीतिक दलहरूले कडा भर्त्सना गरेका छन् ।