साउन २९, २०७९ आइतबार

प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंक प्राप्त गर्ने परीक्षार्थीले सवारी चालक अनुमति पत्र पाउने व्यवस्था गरिएको छ । सरकारले हालै जारी गरेको ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि, निर्देशिका’मा ट्रायलमा ७० वा सो भन्दा बढी अंक प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था गरिएको हो । 

निर्देशिकामा प्रयोगात्मक परीक्षा (ट्रायल)लाई खुकुलो पारिएको छ । यसअघि एउटा मात्र गल्ती गर्दा पनि फेल हुने व्यवस्था रहेको त्यसलाई पनि संशोधन गर्दै गल्तीमा अंक घटाई मूंल्याकन गर्ने विधि अपनाउने उल्लेख गरिएको छ । 

निर्देशिकाअनुसार दुई पांग्रे सवारीसाधनका लागि अंग्रेजी आठ आकारमा सवारी साधन घुमाउँदा एक पटकसम्म रेखा छुँदा वा खुट्टा टेक्दा प्रत्येक गल्तीमा ५ अंक घटाइ मूल्यांकन गरिने छ । 

त्यस्तै, यु टर्नमा इन्डिकेटर नबालेमा १० अंक घटाउने, ट्राफिक संकेतको पालना नगरेमा १५, स्पीड ब्रेकरमा एकपटकसम्म खुट्टा टेकेमा र सवारी स्टार्ट बन्द भएमा प्रत्येक गल्तीमा ५ अंक घटाउने उल्लेख छ । 

त्यस्तै, सवारी चलाउनुपूर्व निरीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४, अस्वाभाविक गतिमा चलाएमा ३ अंक घटाइने उल्लेख  छ । 

घुमाउरो आठमा २०, साँघुरो फलेकमा १०, यु टर्नमा १०, ट्राफिक संकेतमा १५, स्पीड ब्रेकरमा १५, उकालोमा २० तथा परीक्षार्थीको व्यवहारमा १० अंकभार निर्धारण गरिएको छ । 

ट्रायल अवधिभर परीक्षार्थीले प्राप्त गरेको अंकमा उसले गरेको गल्तीवापतको अंक घटाउँदा ७० अंक प्राप्त गरेमा उत्तिर्ण भएको मानिने निर्देशिकामा उल्लेख छ । 

त्यस्तै, चारचक्के हलुका सवारीको हकमा घुमाउँरो आठ २ पटकसम्म रेखा छोएमा प्रत्येकपटक ५ अंक घटाइने छ । स्पीड ब्रेकरमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५, युटर्नमा इण्डिकेटर नबालेमा १०, ट्राफिक संकेत पालना नगरे १५, सवारी पछाडी सार्दा एकपटकसम्म अगाडि बढाएमा १०, सवारी निरीक्षण नगरे ३, सिट बेल्ट नबाँधे ४, अस्वाभाविक गतिमा चलाएमा ३ अंक घटाइने निर्देशिकामा उल्लेख गरिएको छ ।