साउन ३०, २०७९ सोमबार

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीपमा सहभागी हुन जाने खेलाडीहरूलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले सोमवार आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरू प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई विदाई गरे । 

विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । उनले खेलकुदमा राम्रो गरे परिवारसँगै राष्ट्रको नाम र इज्जत फैलिने उल्लेख गरे । ‘खेलकुदका माध्यमबाट पनि समाज परिवर्तन गर्न सकिन्छ, युवाहरुलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ,’ मेयर कोइरालाले भने, ‘अझ खेलकुदका कारण अन्तर्राष्ट्रियस्तरमा मुलुकको नाम फैलाउन सकिन्छ ।’

यही अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई कञ्चनबारी कराँते एकेडेमीले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो । कार्यक्रममा एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिएका थिए ।