साउन ३०, २०७९ सोमबार

अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थ मन्त्रालयमा सोमवार भेटवार्ता भएको छ ।

भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरे ।

भेटका क्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई सञ्चालन गर्ने निर्णय गरेकाले कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई सञ्चालन गर्न आवश्यक रहेको बताए ।

‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने र कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविष्कार केन्द्रको रूपमा पनि विकास गर्ने सरकारको लक्ष्य छ,’ उनले भने ।

केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए । कारखानालाई पुनर्जीवन दिई कृषि औजार आविष्कार केन्द्र समेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको बताउँदै पुनले भने, ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारहरू समेत निर्माण गर्न सक्छ ।’

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरी आधुनिकीकरण समेत गर्न सकिने आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताए ।

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रिक शक्तिबाट सञ्चालन हुने सस्तो, सरल तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषियन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर आयआर्जन क्षमता बढाउने उद्देश्यका साथ नेपाल सरकार र तत्कालीन सोभियत संघको संयुक्त लगानीमा विक्रम संवत् २०२१ सालमा कृषि औजार कारखाना वीरगञ्जमा स्थापना भएको थियो । कम्पनीमा परिणत भएको कृषि औजार कारखाना वीरगञ्जले शुरूका वर्षमा कृषि औजारको पर्याप्त उत्पादन गरी आपूर्ति गरे तापनि विविध कारणबाट कृषि औजार उत्पादनमा न्यून हुन गएको थियो । कारखाना २०५९ सालदेखि पूर्ण रूपमा बन्द छ ।