भदौ २, २०७९ बिहिबार

काठमाण्डौ: अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो ।

बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो ।

वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा २२ रन र चौथो खेलमा २७ रनले पराजित भएको थियो ।