भदौ २, २०७९ बिहिबार

काठमाडौं: नेकपा एमाले केन्द्रीय स्कुल विभागले कार्यकर्ताका लागि पार्टी कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको छ। 

एमाले जनसंगठन अखिल नेपाल किसान महासंघका सदस्यहरू पहिलो चरणमा स्कूलमा सहभागी गराएको हो। 

उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख ईश्वरी रिजालले सहभागीहरूलाई प्रशिक्षण दिएका छन्। 

जनसंगठनबाट शुरू गरिएको प्रशिक्षण  तीन दिने प्रमुख ज्ञवालीले बताए। भदौ भरमा सात आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना रहेको उनको भनाइ छ। 

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिएका छन्। 

स्थानीय निर्वाचन अघि र त्यसपछि पनि निरन्तर पार्टी प्रवेश चलिरहेको र अहिले पार्टीमा हजारौंको संख्यामा नवप्रवेशी रहेको उनले बताए। नवप्रवेशी साथीहरूलाई लक्षित गरेर अर्को प्रशिक्षण चलाउने निर्णय गरिएको समेत बताए। 

विभागले आम निर्वाचनपछि आफ्नो बार्षिक कार्ययोजना अन्तर्गतको निर्धारित कामलाई पुनः निरन्तरता दिनेछ।