भदौ २, २०७९ बिहिबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले ह्यारिसन प्यालेसमा सिद्धार्थको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत होटेल बसाइँ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहकमैत्री प्रविधि भित्र्याउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ सेवा जस्तै( अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधा वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।