भदौ ७, २०७९ मंगलबार

नेपाल राष्ट्र बैंकले फेरि पनि आफैँ ट्रेजरी बिल किनेको छ । राष्ट्र बैंकले आफैँ ट्रेजरी बिल किनेको यो चौथो पटक हो । 

राष्ट्र बैंकले हिजो कुल १२ अर्बको ट्रेजरी बिक्री गरेको थियो । जसमध्ये, बैंकले करिब ५ अर्बको ट्रेजरी बिल आफैँ किनेको हो । बैंकले २६ दिनको अवधिको २ अर्ब रुपैयाँ बराबरको र ९१ दिन अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आफैँ किनेको छ । 

त्यसैगरी, १८२ दिन अवधिको लागि ६ अर्बको ट्रेजरी बिल बिक्री गरिएकोमा बैंक तथा वित्तीय संस्थालाई ५ अर्ब ८५ करोड रुपैयाँको बिक्री गरी १५ करोडको ट्रेजरी राष्ट्र बैंकले सौझै खरिद गरेको छ । यस्तै, ३६४ दिनको अवधिको ट्रेजरी बिलमा पनि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी राष्ट्र बैंकले आफैँले खरिद गरेको छ भने ५० करोडको ट्रेजरी बिल अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेको छ ।

२८ दिन अवधिको ट्रेजरीको ब्याजदर ८.७० प्रतिशत, ९१ दिन अवधिको ट्रेजरीको ब्याजदर ९.०८ प्रतिशत, १८२ दिन अवधिको ब्याजदर ९.०२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरीको ब्याजदर ९.०२ प्रतिशत कायम भएको छ।