भदौ ८, २०७९ बुधबार

ललितपुर: असोजको पहिलो सातादेखि तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ।

नेपाल तेक्वान्दो संघले मोफसलमा पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको हो। यसअघिका २ संस्करण सन् २०११ र सन् २०१४ को काठमाडौंमै भएका थिए। प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। 

प्रतियोगिता पोखरा रंगशालास्थित बहु उद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ। तेस्रो संस्करणको यो प्रतियोगितादेखि माउन्ट एभरेष्ट जीसीएस इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से च्याम्पियनसिप समेत थप गरिएको संघका अध्यक्ष प्रकाशशमशेर राणाले जानकारी दिए।  

उनले  १३ औँ दक्षिण एसियाली खेलकुद, कोभिड १९ को प्रकोप र अरु प्राविधिक कारणले प्रतियोगितालाई सन् २०१४ पछि झण्डै आठ वर्षसम्म निरन्तरता दिन नसकेको बताए। 

विश्व तेक्वान्दो महासंघले स्वीकृति प्रदान गरेको प्रतियोगितामा सहभागिताका लागि प्रारम्भिक रूपमा भाद्र ९ गतेदखि भाद्र २७ गतेसम्म दर्ताको समय निर्धारण गरिएको संघले जनाएको छ। अहिलेसम्म ११ देशका ८११ जना सहभागी हुने तयारी भएको राणाले बताए। उनका अनुसार प्रतियोगितामा एकहजार भन्दा बढी सहभागी हुने अपेक्षा तेक्वान्दो संघले गरेको छ। 

प्रतियोगिताको पूर्वतयारी र व्यवस्थापनका लागि १०१ सदस्यीय मूल आयोजक समिति र १६ उपसमिति गठन गरिएको छ। प्रतियोगितामाकरिब दुई करोड ५५ लाख खर्च हुने अनुमान छ। 

प्रतियोगितामा विश्वभरका खेलाडी, निर्णायक, प्राविधिक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य, विश्व तेक्वान्दो महासंघका अध्यक्ष सहित पदाधिकारीहरु गरेर दुई हजार जनाको उपस्थित हुनेछन्। 

नेपालको गौरव अभिवृद्धिसँगै खेलकुदमार्फत गण्डकी प्रदेशलाई खेलकुदको शहरको रूपमा स्थापित गर्ने उदेश्य यो प्रतियोगिताको रहेको मूल आयोजक समितिका अध्यक्ष समेत रहेका राणाले बताए। 

कोभिड १९ ले थिलथिलो पारेको नेपाली पर्यटनलाई उठाउने प्रयासस्वरूप यो प्रतियोगिता गर्न लागेको उनको भनाइ छ।