भदौ ८, २०७९ बुधबार

बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने बताएका छन् ।

महानगरको कदमले साना व्यापारीहरू मारमा परेका भन्ने व्यापारीहरूको गुनासोको जवाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे। नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने भन्दै उनले भने, ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यही हुन्छ (डोजर चल्छ)।’

डोजर चलेका संरचना अवैध रूपमा बनाइएको भन्दै मेयर साहले त्यसबापत क्षतिपूर्ति नदिइनेसमेत प्रस्ट पारेका छन्।अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ।