भदौ ८, २०७९ बुधबार

वीरेन्द्रनगरमा कृषि क्षेत्र विकास कार्यक्रमका लागि प्रभु बैंक लिमिटेडले ल्याएको विकसित नयाँ कर्जा सेवाबारे सोमवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा सरकारले सञ्चालन गरिरहेको कार्यक्रम हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कार्यक्रमले कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरूको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । 

भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रभु बैंकका सिबीसिओ सुनिल रानालगायत कर्णाली प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक विनोदकुमार भट्टराईले कार्यक्रमको परिचय, कार्यक्षेत्र तथा काम गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए । 

प्रभु बैंकका लघु वित्तीय शाखाका प्रमुख चन्द्रबहादुर खत्रीले कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै कर्जा योजना बनाई कार्यान्वयन गरिने जानकारी दिए । उनले कर्णाली प्रदेश तथा सोअन्र्तगतका शाखा प्रमुखहरूलाई यस कार्यक्रम अन्तर्गतका लाभग्राहीहरूलाई सहज रूपमा कर्जा प्रवाह गराई वित्तीय साक्षरतासमेत उपलब्ध गराउन आग्रह गरे ।