भदौ ९, २०७९ बिहिबार

काठमाडौँ । बैंकहरूको निक्षेप भदौ लागेसँगै पुनः घट्न लागेको छ । भदौ लागेयताको तीन दिनमा नै वाणिज्य बैंकहरूको निक्षेप ७ अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार ३१ साउनमा ४४ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ भदौमा ४४ खर्ब २६ अर्बमा झरेको छ । २०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्बसम्म पुगेको वाणिज्य बैंकहरूको निक्षेप २७ साउनमा ४४ खर्ब २१ अर्बसम्म झरेको थियो । ३१ साउनमा केही सुधार भएर ४४ खर्ब ३३ अर्बमा पुगेको निक्षेप भदौ लागेपछि पुनः घट्न सुरु भएको हो ।

तर, कर्जा लगानी भने १ अर्बले बढेको छ । २०७९ असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी १३ साउनमा ४१ खर्ब ६४ अर्बसम्म झरेको थियो । ३१ साउनमा ४१ खर्ब ७७ अर्ब पुगेकोमा ३ भदौमा ४१ खर्ब ७८ अर्ब पुगेको छ ।

निक्षेप घटेसँगै वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८८.४७ प्रतिशत पुगेको छ ।