अखिल भारत फुटबल संघ (एआइएफएफ)माथिको निलम्बन फुकुवा गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार उक्त प्रतिबन्ध फुकुवा गरेको हो । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटीलाई दिएको थियो ।
भारतको सर्वोच्च अदालतले सोमबार आफैले गठन गरेको तीन सदस्यीय कमिटीलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो । सो आदेश लगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफा समक्ष आग्रह गरेका थिए ।
फिफाले पूर्ण रूपमा एआइएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो । एआइएफएफको चुनावी साधारणसभा सेप्टेम्बर २ मा हुँदै छ । फिफाले एआइएफएफको दैनिक गतिबिधि निरन्तर निरीक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।
निलम्बन फुकुवा भएसँगै भारतले अक्टोबर ११ देखी ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ ।