चीनबाट भारतको कोलकाता हुँदै भारतीय नम्बर प्लेटका पाँचवटा कन्टेनरमार्फत नेपाल भित्राइएको स्याउसहित थप तीनवटा नेपाली ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिका–१३ मलाया रोडबाट नियन्त्रणमा लिइएका पाँचवटा कन्टेनर र तीनवटा ट्रक गरेर आठवटै गाडीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए ।
उनका अनुसार भारतीय कन्टेनरलाई सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गर्दैगर्दा साँझ ६:३० बजेतिर नियन्त्रणमा लिइएको हो। साथै भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले माग्दा चालकले भीसीटीएसको विवरण र भन्सारका अन्य कागजपत्र उपलब्ध गराउन नसकेको उनले बताए।
‘भारतीय नम्बर प्लेटका ढुवानीका साधनलाई बाटोमा रोकेर नेपाली ट्रकमा सामान ‘अनलोड’ गर्न पाइँदैन। भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पुर्याएर मात्रै ‘पल्टी’ गर्नुपर्छ,’ डीएसपी श्रेष्ठले भने, ‘भीसीटीएस प्रणालीमा विवरण प्रविष्ट नगरी स्याउ ढुवानी गरिएजस्तो देखिन्छ। मालवस्तुको ढुवानीमा भीसीटीएस प्रणाली अनिवार्य छ।’ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनले मालवस्तुको ढुवानीमा भीसीटीएस अनिवार्य गरेको हो।
सम्बन्धित ठाउँमा नपुर्याइकन ‘अनलोड’ गरिएको र आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि शंकास्पद लागेर चाइनिज स्याउसहित कन्टेनर र ट्रक नियन्त्रणमा लिइएको उनको भनाइ छ। प्रहरीले शंकास्पद अवस्थामा एनएल ०१ एई ४७०५, एनएल ०१ एबी २४१०, एनएल ०१ एई ३७२२, एनएल ०१ क्यू २२२२ र एनएल ०१ एन २६६३ नम्बरको कन्टेनर नियन्त्रणमा लिएको हो। कन्टेनरलाई बाटोमै रोकेर स्याउ ‘अनलोड’ गर्दै गरिएका ना ५ ख ५६००, को १ ख ६९३९ र प्रदेश १–०२–००१ ख् ८५५६ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।