भदौ १२, २०७९ आइतबार

काठमाडौं : महिला साफ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक कुमार थापाले च्याम्पियनसिपका लागि ३५ खेलाडीबाट २३ सदस्यीय टोली घोषणा गरेका हुन्। पहिलो चरणमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो।

नेपाली टोलीमा नियमित कप्तान रेनुका नगरकोटी र रक्षक पूजा रानालाई समावेश गरिएको छैन। प्रशिक्षणका क्रममा चोट बोकेका उनीहरू दुवैले साफ  गुमाउने भएका छन्। अमिसा कार्की, समीक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अमिसा स्ट्राइकर हुन्। समीक्षा रक्षक र दीपा मिडफिल्डर हुन्। 

नेपाली टोलीको गोलरक्षकमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन्। यस्तै रक्षकमा हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विकले स्थान बनाएका छन्। मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत र अनिता केसी छन्। यसैगरी स्ट्राइकरमा अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। 

सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। आयोजक नेपाल सहज मानिएको समूह ‘बी’ छ। नेपालको समूहमा श्रीलंका र भुटान छन्। यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल खेल असोज ३ गते हुनेछ।