भदौ १२, २०७९ आइतबार

टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई केन्याले १५७ रनको लक्ष्य दिएको छ।

आइतबार नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले २ विकेटको क्षतिमा १५६ रन जोड्यो।

केन्याका लागि राखेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरे। पटेलले नटआउट ७३ रन र करिमले नटआउट ५५ रन जोडे। पटेलले ४३ बलमा ५ चौका र ४ छक्का तथा करिमले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि शुखदीप सिंह ८ रन र  कोलिन्स ओबुया १४ रनमा आउट भए। 

बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २-२ विकेट लिए।

खेलमा नेपाली टिममा दुई परिवर्तन गर्दै साहब आलम र अर्जुन साउदलाई स्थान दियो। विकेटकिपर अर्जुनले यससँगै टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरे। टिमबाट आसिफ शेख र बसिर अहमेद बाहिरिए।

यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा भने केन्या विजयी भएको थियो। 

दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गर्दा हार बेहोर्नु परेको थियो। १३३ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमै अलआउट भएको थियो। टी-२० वरीयताका लागि महत्वपूर्ण मानिएको सिरिजमा हार बेहोरेसँगै नेपाललाई घाटा पर्ने देखिएको छ। 

६ दिनको अन्तरमा पाँच टी-२० खेल्न लागेको नेपालले चौथो खेल भोलि र पाँचौ खेल पर्सी खेल्नेछ।

यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ।