चैत २९, २०७७ आइतबार

एजेन्सी : फ्रेन्च लिग वान फुटबलमा साविको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्ट्रास्बर्गमाथि ४–१ गोलअन्तरको शानदार जित निकालेको छ ।

शनिबार राति स्ट्रास्बर्गकै घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जिताउन किलियन एम्बाप्पे, पाब्लो सराबिया, मोइसे किन र लियन्द्रो पेरेडेसले समान १/१ गोल गरे । घरेलु टोलीका डायन मोइसे सहीले एक सान्त्वना गोल फर्काए ।

जारी खेलको १६औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । २७औँ मिनेटमा सराबियाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाउँदा ४५औँ मिनेटमा किनले गोल गर्दै पिएसजीलाई पहिलो हाफमै ३–० गोलको आरामदायी अग्रता दिलाए ।

त्यस्तै दोस्रो हाफको खेलको ६३औँ मिनेटमा सहीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ७९औँ मिनेटमा पेरेडेसले गोल गर्दै पिएसजीलाई ४–१ गोलको शानदार जित दिलाए ।

उक्त जितसँगै दोस्रो स्थानको पिएसजीले ३२ खेलमा ६६ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको लिलेभन्दा चार अङ्कले पछाडि छ ।यता पराजित स्ट्रास्बर्ग भने ३६ अङ्कका साथ १४औँ स्थानमा छ ।