काठमाडौँ — काठमाडौँ महानगरले सहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट सवारीसाधन पार्किङको प्रयोजन खुलाइ नक्सा स्वीकृति लिइएको छ भने जमिन तला, बेसमेन्ट आदिमा व्यापारिक गतिविधि सञ्चालन नगर्न अपिल गरिरहेको छ । त्यस्तो गरिएको भेटिए अनधिकृत संरचना हटाउने अभियान निरन्तर जारी रहने पनि उसले स्पष्ट पारिसकेको छ ।
यसरी अहिले व्यवसायीहरू आफैँले ती स्थान खाली गराउन थालेका छन् ।
३ सयभन्दा बढी व्यापारिक भवनमा पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा मापदण्डविपरीत पसल र अन्य संरचना निर्माण गरिएको पाइएपछि महानगरले गत साउन २ मा ३५ दिने सूचना जारी गर्दै त्यस्तो क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशन पालना नगरिएपछि महानगरले गत सोमबारदेखि अनुगमन र अनधिकृत संरचना हटाउने अभियान नै थालेको थियो ।
महानगरको निर्देशनपछि नबिल बैंकले न्युरोडमा बेसमेन्टमा सञ्चालन गरिरहेको शाखा कार्यालय हटाएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले सोमबार वसन्तपुर प्लाजा, महर्जन कम्प्लेक्स, बिरा कम्प्लेक्स, सुरज आर्केडलगायतमा सञ्चालित अनधिकृत संरचना हटाउन निर्देशन दिएर फिर्ता भएको छ ।