भदौ १४, २०७९ मंगलबार

त्रिशूली– जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोट जिल्लामा करिब नौ हजार निवेदन संकलन भएको छ ।  जिल्लामा रहेका बाह्र पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’ मा सम्झौता गरेर निवेदन संकलनको चरण पूरा भएको जनाइएको छ । 

आठवटा पालिकामा आठ हजार छ सय ४० निवेदन प्राप्त भएको आयोगको नुवाकोट अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७८ फागुन २६ मा आयोगले जारी गरेको ३५ दिने सूचनाको समयसीमा भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमार्फत जग्गा प्राप्तिको माग गर्दै उक्त सङ्ख्याको निवेदन प्राप्त भएको हो । प्राप्त निवेदनमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या चार सय २८ वटा छ भने अव्यवस्थित बसोबासीको संख्या आठ हजार दुई सय १२ रुजु गरिएको छ ।

‘विदुर नगरपालिका–३ ले निवेदन संकलन गरिसकेको भएपनि कम्प्युटरमा प्रविष्ट गर्न बाँकी रहेकाले उक्त वडाको थप हुँदा निवेदन संख्या नौ हजार पुग्ने देखिन्छ ।’ जिल्ला उनले भने ‘संकलन गरिएका निवेदनमा यसअघिका विभिन्न नाममा गठन भएका आयोगले संकलन गरेको निवेदनलाईसमेत समावेश गरिएको छ ।’