भदौ १५, २०७९ बुधबार

काठमाडौँ । अफगानिस्तान लगातार दोस्रो जीत निकाल्दै एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ।

युएईमा जारी प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो।

पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि शानदार जित निकाल्यो।


बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानस्तानले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तानको जितमा नाजिबउल्लाह जाड्रानले १७ बलमा सर्वाधिक ४३ रन बनाए। यस्तै इब्राहिम जाड्रानले अविजित ४२ रन बनाए। हाज्रातुल्लाह जाजईले २३ र कप्तान मोहम्मद नाबीले ८ रन बनाए।

बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले समान १-१ विकेट लिए।

त्यसअघि शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।

उसका लागि मोसाडिक होसेनले अविजित ४८ रन बनाए। महमुदुल्लाहले २५ तथा मेहेदी  हसनले १४ रन बनाए। आफिफ हसनले १२ र कप्तान शाकिब अल हसनले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अफगानिस्तानका मुजिब उर् रहमान र राशिद खानले समान ३-३ विकेट लिए।

यस जीतसँगै समूह बी को अफगानिस्तानले  २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै सुपर चारमा प्रवेश गरेको हो। अब यो समूहबाट बंगलादेश र श्रीलंकाबीच हुने खेलले सुपर चारमा प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ।