भदौ १५, २०७९ बुधबार

एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दैछन्। हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो।

भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसियाकपको समूह चरणको यो पहिलो खेल हो।

एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा ५० ओभरमा भारतले ३७४ रन बनाएको थियो।

धोनी र रैनाले शतक प्रहार गरेको खेलमा हङकङ भने १ सय १८ रनमा अलआउट हुन पुगेको थियो। भारतले उक्त खेल २५६ रनको फराकिलो अन्तरले जितेको थियो।

त्यसपछि २०१८ मा एसियाकपको समूह ‘ए’मा दुबै टिम पुनस् एकपटक एकदिवसीय खेलमा नै भिडेका थिए। उक्त खेलमा भारतका लागि शिखर धवनले १ सय २७ रनको सतकीय इनिङ खेल्दै हङकङविरुद्ध २ सय ८५ रनको स्कोर बनाएको थियो।

हङकङले पनि उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेट गुमाएर २ सय ५९ रन बनाउँदा उक्त खेलमा २६ रनले पराजित भएको थियो। टी(२० एसियाकपमा भने पहिलो पटक एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्।

प्रतियोगितामा हङकङ भारतलाई हराउँदै आफ्नो ‘डार्क हर्स’को छवि बनाउने ध्याउनमा छ। भारत भने आफ्नो बलियो छविलाई कायम राख्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

समग्रमा भारतले हङकङलाई सहज प्रतिद्वन्द्वीका रूपमा लिँदा हङकङ भने सरप्राइज जितको लक्ष्यमा हुने छ।