भदौ १५, २०७९ बुधबार

काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका करारका कर्मचारीहरुले गाउँपालिकाको मूल गेटमा तालाबन्दी गर्दै धर्ना दिएका छन् । उनीहरुले विभिन्न ५ सूत्रीय माग राखी संयुक्त संघर्ष समिति बनाइ शान्तिपूर्ण धर्ना अभियान सुरु गरेका हुन् ।


संघर्ष समितिले तत्काल करार म्याद थप्नुपर्ने, श्रमशोषण नगरी नेपाल सरकारले तोकेअनुसारको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, कामकाज गरिरहेका करार कर्मचारीहरुलाई नियतवस् विभिन्न आरोपसहित करार गर्न आलटाल गरिएकोमा सो नगरी साविकअनुसार नै कामकाज गर्नेगरी तुरुन्त करार गर्नुपर्ने, करार कर्मचारीहरुको दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, करार कर्मचारीहरुको सम्बन्धमा सम्मानित उच्च अदालत नेपालगञ्ज इजलासबाट गरिएका विभिन्न मितिका आदेश कार्यान्वय गरिनुपर्ने लगायतका माग राखेका छन् ।

बढैयाताल गाउँपालिकाको निवर्तमान कार्यपालिकाले नियुक्ति गरेका ३८ जना करार कर्मचारीहरुको पारिश्रमिक वेरुजु आएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । पारिश्रमिक नै बेरुजु आएको अवस्थामा पुन नियुक्ति दिनु नीतिगत भ्रष्टाचार हुने उनको भनाइ छ ।