विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको मोटर पार्टस् लोड गरिएको ट्याक्टर ।
काठमाडौँ । प्रहरीले विराटनगरबाट मंगलबार राति मोटर पार्टस् बोकेको एउटा भारतीय नम्बर प्लेटको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले भन्सार छली गरेको आशंकामा मोटर पार्टस् लोड गरिएको बीआर ७ के १७२४ नम्बरको ट्याक्टरलाई विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट नियन्त्रणमा लिएको हो ।
ट्याक्टरका चालक भारत अररियाका २४ वर्षीय तलुवा मुर्मलाई पनि पक्राउ गरिएको छ।
प्रहरीले सामान र ट्याक्टरको मूल्यांकन ३७ लाख रूपैयाँ बराबरको गरेको छ। सामान र ट्याक्टरसहित चालकलाई राजस्वमा बुझाइएको छ।
तस्कर समूह, व्यवसायी एवं सामान ढुवानीकर्तासँग ‘सेटिङ’ मिलाएर भन्सारका कर्मचारीले सामानको मूल्यांकन कम गरिदिने तथा कम परिणाम देखाएर बढी सामान ढुवानीको व्यवस्था मिलाइदिने गरेको पाइएको जानकारहरु बताउँछन् । प्रहरीले सामान लोड गरिएका साधन नियन्त्रणमा लिनेवित्तिकै भन्सारले आपत्ति जनाउने गरेको छ।