भदौ १५, २०७९ बुधबार

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको छ।

बैंकले अत्याधुनिक प्रविधिको विकास एवं अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको जनाएको छ।

यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्नेलगायतका सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गरी सहुलियतअनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्नेछन्।

यसले गर्दा ग्राहकहरू प्रतीतपत्र ९एलसी० वा बैंक ग्यारेन्टी बनाउनु परेमा बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन्। साथै यस प्रक्रियाबाट उल्लेखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास लिइएको छ।

यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ। यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवर्द्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्ने बैंकले जनाएको छ।

मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको बैंकले २७२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ।