भदौ १६, २०७९ बिहिबार

एमाले सांसद नवराज सिलवाल

काठमाडौँ । मिटरब्याजीका कारण देशभर कयौँको बिचल्ली भएको छ । उनीहरुले आतंक मच्चाएपछि पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले सहसचिव डा भीष्मराज भुषालको नेतृत्वमा कार्यदल नै बनाएर उजुरी लिइरहेको छ । जसमा देशभरिबाट करिब २ हजार उजुरी परेको छ । काठमाडौंमा पनि करिब डेढ सय जनाले उजुरी गरेका छन् ।

काठमाडौँमा त्यसरी उजुरी पर्नेमध्ये एमाले सांसद नवराज सिलवाल पनि एक हुन् ।

सिलवालविरुद्ध मिटरब्याज असुलीको आरोपमा गृह मन्त्रालयमा उजुरी परेको छ । सिन्धुपाल्चोकका सरोज थापाले उनीविरुद्ध उजुरी गरेका हुन् । सापटी लिएको पैसाभन्दा तेब्बर बुझाउँदा पनि आफूहरुको जग्गा खाइदिएको भन्दै उनले सिलवालविरुद्ध  कारबाहीको माग गरी उजुरी दिएका हुन् । सरोजका बुबा गुनबहादुर थापासँग सिलवालकौ विवाद थियो । सिलवाल पदमा हुँदा गुनबहादुरलाई उनले लागूऔषधदेखि बैंकिङ कसुरसम्मका मुद्दा चलाएका थिए । राजीनामासँगै सिलवालको मिटरब्याजको विवाद हराएको थियो । अहिले गृह मन्त्रालयले छानबिन थालेपछि फेरि यो विवादमा सिलवाल पर्ने भएका छन् । ललितपुरबाट फेरि चुनाव लड्ने तयारीमा रहेका उनलाई मिटरब्याजको झमेलाले सताउने देखिन्छ । सिलवाल आइजिपी नभएपछि जागिर छाडेर एमालेको राजनीतिमा लागेका थिए । गृह मन्त्रालयले गठन गरेको कार्यदलकै सदस्य रहेका केही प्रहरीसमेत मिटरब्याजमा पैसा लगाउने गर्दछन् ।