भदौ १६, २०७९ बिहिबार

नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले अहिले आँफुले निर्वाचन लड्ने बारे कुनै सोच नबनाएको बताएका छन् । केहि दिन देखि कुलमानले काठमांडौबाट प्रतिनिधीसभाको निर्वाचन लड्न सक्ने चर्चा सामाजिक सञ्जालहरुमा छाइरहेको छ । 

‘हल्ला त विभिन्न किसिमका चलिनै रहन्छन् तर अहिले सम्म मैले कुनै पनि निर्वाचन लड्ने सोच बनाएको छैन’ कुलमानले भने । 

नेकपा माओवादीका कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डलाई कुलमानलाई काठमांडौबाट प्रतिनिधीसभाको उमेदवार बनाउन सुझाव दिएको समाचार बाहिरिय पछि यस बिषयले सामाजिक सञ्जाल समेत तातिएको थियो । काठमांडौमा माओवादी पार्टीको माहोल बिग्रियको भन्दै केहि नेताहरुको समूहले कुलमानलाई उमेदवार बनाउन प्रचण्डलाई आग्रह गरेको थियो । 

सोमबार माओवादी अध्यक्ष प्रचण्डले पार्टीको एक कार्यक्रममा निर्वाचन भनेको 'सेन्टिमेन्ट' पनि हो भन्दै काठमाडौंमा बालेन शाहले ल्याएकोभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेको बताएका थिए ।