भदौ १६, २०७९ बिहिबार

काठमाडौं: इङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ। 

गएराति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै पाँच खेलसम्म अपराजित रह्‍यो। आर्सनललाई जित दिलाउनेक्रममा गाब्रियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे। एस्टन भिल्लाका लागि डगलस लुइजले एक गोल गरेका थिए।

यो जितपछि आर्सनलको ५ खेलमा १५ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। एस्टन भिल्लाले भने यस सिजनमा चौथो हार बेहोरेको छ। भिल्लाको ५ खेलमा ३ अंक रहेको छ।  

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६–० ले हरायो। सिटीको ५ खेलबाट १३ अंक भएको छ।

त्यस्तै गएरातिका अन्य खेलमा लिभरपुलले न्यूक्यासललाई २–१ ले नै हरायो। त्यस्तै गरि वेष्टह्याम र टोटनह्यामले १–१ को बराबरी खेल्दा बर्नमाउथ र उल्भले गोलरहित बराबरी खेले।