चैत २९, २०७७ आइतबार

भारतमा कोरोना भाइरसविरुद्धको खोपको १० करोड मात्रा लगाइएको छ। संक्रमणको दोस्रो लहर अति तीव्र गतिमा बढिरहेका बेला खोप अभियान पनि जारी छ।

अप्रिल १ यता भारतमा दैनिक औषतमा ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन्। भारतमा हाल ४५ वर्षमाथिका सबैलाई खोप दिन थालिएको छ। खोप केन्द्र वा अस्पतालमा गएर लगाउन सकिने जनाइएको छ।

अहिलेसम्म अग्रमंक्तिमा रहेर काम गर्ने तथा ६० वर्षमाथिका व्यक्तिलाई प्राथमिकतामा राखेर खोप लगाइएको हो। खोपको १० करोड मात्रा सबैभन्दा छिटो लगाउने भारत पहिलो देश हो।

भारतले अभियान सुरु भएको ८५ दिनमा यो आँकडामा खोप प्रदान गरेको हो। अमेरिकामा १० करोड मात्रा खोप लगाउनका लागि ८९ दिन लागेको थियो। चीनले यो आँकडा १०२ दिनमा पूरा गरेको थियो।

तर पछिल्लो समय भारतको खोप अभियान समस्यामा छ। यो हप्तामात्रै ६ राज्यहरुले खोपको अभाव भएको बताएका छन्। केन्द्र सरकारले खोपको मौज्दात पर्याप्त मात्रामा रहेको बताए पनि आन्ध्र प्रदेश, छत्तिसगढ, हरियाणा, महाराष्ट्र, ओडिसा र तेलंगनाले खोप अभाव भएको बताएका छन्।

केन्द्र सरकारले भने खोप अभाव भएको भन्ने दाबी निराधार रहेको र अझै पनि चार करोड मात्रा भन्दा बढि खोप मौज्दातमा रहेको बताएको छ।

आउँदो जुलाईसम्म २५ करोड मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य भारतले लिएको छ। तर सो लक्ष्य पूरा गर्नका लागि गति अझै तीव्र पार्नु पर्ने विज्ञले बताएका छन्।

भारतमा अहिलेसम्म एक करोड ३२ लाख पाँच हजार ९ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोभिड–१९ का कारण एक लाख ६८ हजार ४३६ जनाको ज्यान गएको छ।