काठमाडौँ । ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनेका संरचना हटाउने भएको छ। अनधिकृत संरचनामै व्यापार तथा व्यवसाय गरिरहेको भए पनि दसैंअघि उनीहरूलाई नहटाउने महानगरको भनाइ छ।
अहिलेदेखि नै अनधिकृत संरचना खाली गर्न सूचना दिने र दसैं सकिएपछि पनि घरधनीले नहटाए महानगरले कारबाहीसहित त्यस्ता संरचना हटाइदिने मेयर चिरीबाबु महर्जन बताउँछन् ।
महानगरले पटकपटक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउन भने पनि घरधनीले मानेका छैनन्। अनधिकृत संरचना अटेर गरी नहटाए प्रक्रिया पूरा गरेर महानगरले हटाउने उनले बताए।
‘हामी कानुनी रूपमा विधि र प्रक्रिया पुर्याएर कारबाही गर्छौं, अनधिकृत संरचनालाई क्रमश हटाउँदै जान्छौं’, मेयर महर्जनले भने, ‘हामी कसैलाई नोक्सान पुर्याउने काम गर्दैनौं, नियमअनुसार मौका दिएरै अनधिकृत संरचनाहरू हटाउँछौं।’
अनधिकृत रूपमा बनेका संरचना हटाउन यसअघि पनि पटकपटक सूचना दिइसकिएको उनले बताए।