काठमाडौँ — नेपालको उत्तरी छिमेक चीनबाट उच्चतहको भ्रमण हुन लागेको छ । चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालको तीन दिने भ्रमण गर्न लागेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा हुन लागेको उनको भ्रमणलाई महत्त्वका साथ चासो दिइएको छ ।
उनी भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्न लागेका हुन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
ली चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का वरिष्ठ नेतामा पर्छन् । चीनको संविधानअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधानअनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।
सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए ।