भदौ १७, २०७९ शुक्रबार

काठमाडौँ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यापारीहरूको संगठन ‘राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघ’ले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ ।

महासंघले केही हप्ताअघि महानगरलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको भए पनि सुनुवाइ नभएकाले संघर्षमा उत्रिनुपरेकाे बताएको छ ।

प्रदर्शनकारीहरूले माइतीघरमा भेला भई भद्रकाली, सुनधारा हुँदै महानगरको कार्यालय अघि पुगी त्यहाँबाट त्रिपुरेश्वर हुँदै पुनः माइतीघर आई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरूले आफ्नो रोजीरोटीको सुनिश्चितता हुनु पर्ने, वैकल्पिक व्यवस्था नगरी फुटपाथबाट पसल हटाउन नहुने, नगर प्रहरीले जफत गरेका सामान विनासर्त फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।