भदौ १८, २०७९ शनिबार

काठमाडौँ — एसिया कपको अन्तिम लिग चरणको खेलमा हङकङलाई शुक्रबार १ सय ५५ रनले पराजित गर्दै पाकिस्तान सुपर ४ मा प्रवेश गरेको छ ।

सारजहामा भएको समूह ‘ए’ को खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले दुई विकेटमा १ सय ९३ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए । यस्तै फकर जमनले ५३ रनको योगदान दिए ।

जवाफमा हङकङ ३८ रन मात्र बनाएर अलआउट भयो । पूरा टिम १०.४ ओभर मात्र टिकेको थियो र कोही पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । हारले हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । यो ट्वान्टी-२० क्रिकेटमा उसको अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो ।

पाकिस्तानले भने ट्वान्टी-२० क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित आत्मसात् गर्‍यो । अब आइतबार सुपर ४ को दोस्रो खेलमा भारत र पाकिस्तान फेरि प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।