ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फूटबल कप प्रतियोगिता हुने भएको छ ।
परिषद्ले शुक्रवार पत्रकार सम्मेलन गरी खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन गर्नका लागि प्रथम ठमेल पर्यटन भेट्रान्स फूटबल कप प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन विकासका लागि आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
प्रतियोगितामा ठमेल क्षेत्रका २ टीमसहित काठमाडौं, पोखरा, धरान, चितवन लगायत देशभर मुख्य शहरका २० टीमको सहभागिता रहने संयोजक राजभण्डारीले बताए ।
४० वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने खेलमा टीम दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ भने टीम दर्ता अवधि असोज २ गतेसम्मलाई दिइएको छ । संयोजक राजभण्डारीका अनुसार खेल सेमिफाइनलसम्म ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ ।
खेलमा प्रथम हुने टीमलाई २ लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टीमलाई नगद १ लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही १० हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।