भदौ १९, २०७९ आइतबार

काठमाडौँ । एसिया कप क्रिकेटको सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हराएको छ । यूएईको शारजाह क्रिकेट मैदानमा शनिबार राती भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलङ्काले छ विकेट गुमाएर पाँच बल अघि नै भेटायो । श्रीलङ्काका लागि कुशल मेन्डीसले ३६, पथुम निस्संकाले ३५, दनुस्का गुनथिलकाले ३३ र भानुका राजापाक्षेले ३१ रन बनाए ।

अफगानिस्तानका मुजीब उर रहमान र नवीन उल हकले २/२  तथा राशिद खान र मोहम्मद नावीले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको अफगानिस्तानले रहमानुल्लाह गुर्बाजको ८४ र इब्राहिम जद्रानको ४० रन मद्दतमा १ सय ७५ रन बनाएको थियो । गुर्बाजले ४५ बलमा ८५ रन बनाए ।

जितसँगै समूह चरणमा अफगानिस्तनसँगको हारको बदला पनि श्रीलङ्काले सुपर चारमा लिएको छ । सुपर चारमा आज आइतबार भारत र पाकिस्तानको खेल हुँदै छ ।