भदौ १९, २०७९ आइतबार


काठमाडाैँ । बारामा हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका करिब १५/२० जनाको हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो ।

शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ । डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो । प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको छ । डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।